नेपालमा स्थानीय प्रविधिमा आधारित सिंचाइको इतिहास निकै पुरानो छ । परम्परागत किसान व्यवस्थित सिंचाइ प्रणालीहरु विश्वस्तरमा नै उदाहरणीय मानिन्छन्। परापूर्वकाल देखि नै नेपाली किसानहरुले स्थानीय प्रविधिको उपयोग गर्दै खोला नदीमा बाँध निर्माण गरी कुलोको माध्यमद्वारा खेतबारीमा पानी पुर्याइ सिंचाइ गर्दै आएका छन् । सिंचाइ नीति,२०७० ले मुलुकका सम्पूर्ण कृषियोग्य भूमिमा कृषि उत्पादकत्वमा योगदान पुग्ने गरी बर्षैभरि दिगो एवं भरपर्दो सिंचाइ सुविधा पुर्याउने दृष्टिकोण राखेको छ। दिगो विकासका मुख्य १७ लक्ष्यमध्ये २०३० सम्म शून्य भोकमरी र गरिबीको अन्त्य गर्ने महत्त्वपूर्ण लक्ष्य छन् ।परम्परागत गुरुत्वाकर्षण ऊर्जामा आधारित प्रबिधि प्रयोग गरि पहाडका टार र तराईका धेरै जमिनमा सिंचाइ पुर्याउन सकिएको छैन ।सिंचाइ नीति र दिगो विकासका लक्ष्य हासिल गर्न परम्परागत प्रबिधिले सिंचाइ नपुगेको कृषि योग्य भूमिहरुमा बर्षैभरि दिगो एवं भरपर्दो सिंचाइ सुविधा पुर्याउन आवश्यक देखिन्छ । यसको लागि सिंचाइमा ऊर्जाको प्रयोग हुन जरुरी देखिन्छ ।प्रसारण लाईन पुगेको ठाउँमा जलविद्युत, घाम लाग्ने ठाउमा सौर्य ऊर्जा वा अन्य नवीकरणीय ऊर्जा प्रयोग गरि, थोरै पानीले धेरै उत्पादन हुने नविन सिंचाइ प्रबिधि प्रयोग गरि सिंचाइ सुविधा पुर्याएर खाद्य सुरक्षा गरिबी निवारण गर्न मद्धत पुग्नेछ ।यस अवधारणामा आधारित भएर आ.ब . २०७५/७६ बाट “एकिकृत ऊर्जा तथा सिंचाइ विशेष कार्यक्रम शुरू भएकोले सो कार्यक्रम " कार्यान्वयनको लागि कार्यान्वयन कार्यविधि तयार गरिएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय द्धारा प्रकाशित ‘आर्थिक वर्ष २०७५/७६ को नीति, बजेट तथा कार्यक्रम कार्यान्वयन कार्य योजनामा यस आयोजनाको लागि सौर्य विद्युतको उपयोग गरी लिफ्ट सिंचाइ आयोजना सन्चालन गरिने, मिनि ग्रिड प्रणालीको माध्यमबाट सौर्य विद्युतको उपयोग ग्रामीण विद्युतीकरणमा गरिने र सौर्य विद्युतको दिगोपन (Sustainability) को लागि ग्रिड उपलब्ध हुने स्थानमा नेट मिटरिगं तथा नेट पेमेण्टको व्यवस्था गरी ग्रिडमा आवद्ध गरिने कुरा उल्लेख छ । यस कार्यक्रम अन्तर्गत कार्य प्रकृतिका आधारमा निम्न दुई भाग (Component) रहेका छन् । अ) मध्य पहाड टार लिफ्ट सिंचाइ आयोजना चयन पहाडी क्षेत्रमा रहेका ठूला तथा मझौला नदि तथा तिनीहरुका जलाधार क्षेत्रमा अवस्थित पानीको श्रोतहरुबाट त्यहाँ अवस्थित सीमान्कृत कृषि योग्य जमिनमा विद्युत तथा सौर्य ऊर्जाको प्रयोग गरी लिफ्ट सिंचाइको माध्यमबाट सिंचाइ योजनाको निर्माण तथा एकिकृत कृषि विकास तथा प्रसार गर्ने उद्देश्यका आयोजनाहरू कार्यान्वयन गरिने छ। आ) तराई मधेश सौर्य लिफ्ट सिंचाइ आयोजना Hybrid (जल विद्युत र सौर्य उत्पादित विद्युतबीच आदान प्रदान गर्न मिल्ने) किसिमको सौर्य ऊर्जा र जल विद्युत दुवै जडित ऊर्जाबाट तराई तथा भित्री मधेशका कृषी योग्य जमिनमा वाह्र महिना दीगो र भरपर्दो सिंचाइ सुविधा उपलब्ध गराइने छ ।